काठमाडौ । कोरोना संक्रमण बढेपछि विशेष निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सरकारले कोरोना संक्रमण बढ्ने जोखिम देखिरहेका बेला स्वास्थ्य मापदण्डमा कडाई गर्ने निर्णय लिन बैठक बोलाइएको हो । सकभर लकडाउन नगर्ने सोच बनाएको सरकारले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ ।

सरकारले लकडाउनका बेला अपनाएका स्वास्थ्य सुरक्षाका मापदण्डलाई फेरी लागू गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बोलाइएको मन्त्रिपरिषद्को बैठकमा सीसीएमसीले पेश गरेको ११ बुँदे सुझावमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो ।

नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सीसीएमसीले काठमाडौं लगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ । पछिल्लो दुई सातामा २ सय ७३ बढि विद्यार्थी संक्रमित भईसकेका छन् ।

जसमध्ये केहीको मृत्यु भएपछि सरकार एक्सनमा उत्रिन लागेको हो । आज मात्रै बुटवलमा एउटै अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

 

सम्बन्धित खबरहरु