काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनमा भएको लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

उहाँ स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनका लागि गत चैत २३ गते १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।

शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो ।

सम्मेलनका क्रममा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाटसमेत गर्नुभएको उहाँका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्नुका साथै सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा नेपालमा शान्ति र लोकतन्त्रको विकासबारे आफ्नो अनुभवसहितको सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै उहाँले स्पेनको माथिल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेनका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिसँग भेटघाट गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली सङ्घ, उहाँको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोबास गर्ने नागरिकसम्बद्ध सङ्घ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको प्रेस विज्ञ पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हीराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खबरहरु