टोकियो, २ बैशाख (रासस–एएफपी) जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ ।

प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्नु हुनेछ । अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लाग्नु भएको हो ।

बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ । दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छः बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु ।

जापानी विदेश नीति इन्स्टिच्यूटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताउनुभयो । चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ ।

बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु