काठमाडौं । शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ ।

शुक्रबार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप र फुलेर फल लाग्न थालेको लिचीमा निकै क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

त्रिनपा–१ जोगिदहमा गएराति आएको भीषण हावाहुरीले भर्खरै फल लाग्न थालेको लिची र आँपमा निकै क्षति पुगेको जोगिदह बरगाछीका अमेन्द्रलाल चौधरीले बताउनुभयो । चौधरीका अनुसार हावाहुरीले आँप र लिचीको हाँगासमेत भाँचिदिएको र २५ प्रतिशत फूल तथा फल हुरीले खसाएर नष्ट गरेको छ ।

यस्तै बेलका नगरपालिकाको भागलपुर र आम्बासी तपेस्वरी क्षेत्रमा पनि गएराति आएको भीषण हावाहुरीका कारण लिची र आँपमा निकै ठूलो क्षति पुगेको र हावाहुरीले अन्दाजी २० प्रतिशत फलफूल भुइँमा खसाली दिएको तपेश्वरीका प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

जिल्लाको चौदण्डी गढी नगरपालिकाको हँडिया, सुन्दरपुर क्षेत्रमा गएराति आएको आधा घण्टाभन्दा लामो समयसम्म चलेको हावाहुरीका कारण भर्खरै फुलेर फल लाग्दै गरेको आँप र लिचीमा निकै क्षति पुगेको र हावाहुरीले आँप र लिचीका स–साना दानाहरुलाई भूइँमा झारी दिएको कृषक बताउँछन् ।

यता जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङको बराह, बासबोटेसहित इनामे साउने खाँबु क्षेत्रका केही स्थानमा पनि हावाहुरीले फलफूल र अननबालीमा निकै ठूलो क्षति पु¥याएको सम्बन्धित क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित खबरहरु