काठमाडौं । आजै पदमुक्त हुनु भएका रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिनु भएको छ । मन्त्री बादलले पुनः गृहमन्त्रीको पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभयो । नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो । राष्ट्रिय सभा सदस्य हटेसँगै स्वत: गृहमन्त्री पद पनि गएको थियो ।

एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले बादललाई नेकपा एमालेका केन्द्रीय सदस्य बनाउनु भएको छ । बादललाई गत फागुन २८ गते केन्द्रीय सदस्य बनाइएको थियो । दल त्याग गरेको भन्दै माओवादीले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्र बागमती प्रदेशबाट बादल ०७४ मा भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु भएको थियो । उहाँको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित खबरहरु