कोरोना संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अति जरूरी सूचनाकोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको जरूरी सूचना / कोभिड १९ को संक्रमण बढ्दै गएकोले २०७८ बैशाख ८ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरुमा तपशिल बमोजिम गर्न÷गराउन निर्णयानुसार सूचना गरिएको छ ।

१) नेपाल सरकारले कोभिड अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगन्ज, दाङ, सुर्खेत, बाग्लुङ, महेन्द्रनगर) मा सैद्दान्तिक कक्षाहरू अनलाइनको माध्यमबाट सञ्चालन गर्ने । प्रयोगात्मक कक्षालाई जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्दै विद्यार्थीहरूको पालो मिलाई भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने । बाँकी जिल्लाहरुको हकमा स्थानीय निकायहरुसँग समन्वय गरी आवश्यक सुरक्षाका उपायहरु अवलम्वन गर्ने ।

२) आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्ने । परीक्षा सञ्चालनकालागि आवश्यक संख्यामा शिक्षक कर्मचारीको उपस्थिति गराउने । ३) २५ जना भन्दा बढी हुनेगरी कुनै पनि सभा, सम्मेलन, गोष्ठी प्रत्यक्ष रुपमा नगर्ने । ७ जना भन्दा बढी प्रत्यक्ष उपस्थित भएर बैठक नगर्ने । अनलाइनको माध्यमबाट मात्र गर्ने ।

४) सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्ने । ५) पत्राचार गर्दा विश्वविद्यालयले उपलब्ध गराएको आधिकारिक इमेल मार्फत् गर्ने । विश्वविद्यालयका विभिन्न निकायहरूको इमेल त्रिविको वेभ साइटबाट प्राप्त गर्न सकिने छ ।

६) अनलाइन कक्षा सञ्चालनकालागि कसैको इमेल नबनेको भए सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्र (userid@tu.edu.np) मा सम्पर्क गर्ने । ७) अनलाइन कक्षा सञ्चालनकालागि टिम (Microsoft Teams App) सञ्चालनको तालिम आवश्यक भएमा खुला तथा दुर शिक्षा केन्द्र (secretariat@odec.tu.edu.np) मा सम्पर्क गर्ने । अनलाइन कक्षा सञ्चालन गर्दै सबै शिक्षकहरूलाई खुला तथा दुर शिक्षा केन्द्रले सञ्चालन गर्ने मुडलको तालिममा अनिवार्य सहभागी गराउने ।

८) अनलाइन कक्षा लिने शिक्षकहरूको हाजिरी टिमबाट नै डाउनलोड गरी राख्ने । तोकिएको कक्षा अनलाइनबाट नलिने शिक्षकहरूलाई मात्र क्याम्पस, विभाग र स्कुलमा उपस्थित भई हाजिर हुनुपर्ने व्यवस्था मिलाउने ।  योगेन्द्र प्रसाद दाहाल / प्रमुख सूचनासहित

सम्बन्धित खबरहरु