काठमाडौं । विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर राजधानीमा बुधबार एकता भएको छ । दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको थियो ।

सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गतको राष्ट्रिय समिति बाँसबारी र राष्ट्रिय समिति दर्ता नं ३३८ कलङ्कीका बीच आइतबार सहमति भएको थियो । एकता गर्ने सहमतिलाई महासङ्घ अन्तर्राष्ट्रिय समितिले पनि वैशाख ५ गते अनुमोदन गरेको थियो ।

संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रुपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्र र राष्ट्रगुरु योगी नरहरिनाथको सङ्कल्पले महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको हो ।

जसको संस्थापक सभापति पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल हुनुहुन्थ्यो । समितिलाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि मान्यता दिएको राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले सुनाउनुभयो ।

अन्तर्राष्ट्रिय समितिअन्तर्गत ३७ देशमा राष्ट्रिय समिति छन् । भारत, अमेरिका, बेलायत, पाकिस्तान, बङ्गलादेशलगायत हिन्दू भएका देशमा राष्ट्रिय समिति क्रियाशील छन् ।

महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गत विसं २०४५ मा राष्ट्रिय समिति स्थापना भएको हो । जसको संस्थापक सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी हुनुभएको महासङ्घले जनाएको छ ।

विसं २०६० मा अन्तर्राष्ट्रिय समितिका सभापति भरतकेशर सिंह र राष्ट्रिय समितिका सभापति पण्डित नारायणप्रसाद पोखरेलबीचको विवादले महासङ्घ दुई टुक्रा बनेको थियो ।

अन्तर्राष्ट्रिय समितिका सभापति सिंहले राष्ट्रिय समितिका सभापति पोखरेललाई कारवाही गरेपछि ३३८ दर्ता नं मा अर्को राष्ट्रिय समिति दर्ता भएको थियो । जसको कार्यालय कलङ्कीमा स्थापना गरिएको थियो ।

विसं २०६० मा महासङ्घ फुटेसँगै विसं २०६३ मा नेपाल धर्म निरपेक्ष घोषणा भएको निष्कर्ष निकाल्दै एकजुट भएको महासचिव पाण्डेले सुनाउनुभयो । महासङ्घको मुख्य उद्देश्य नेपाललाई सनातन हिन्दू राष्ट्रका रुपमा स्थापित गर्ने रहेको छ । धर्म निरपेक्षतापछि प्रभावमा पारेर धर्म परिवर्तन गराउने क्रमसमेत बढेकामा दुवै समितिले आपत्ति जनाउँदै आएका थिए ।

सनातन धर्ममाथिको आक्रमण रोक्न सबै हिन्दू संस्थाबीच एकता गर्ने अभियान अन्तर्गत पहिलो चरणमा १८ वर्षअघि दुई भएका हिन्दू संस्थाबीच एकता गरिएको समितिका अर्का महासचिव गणेशप्रसाद न्यौपानेले बताउनुभयो । जसका लागि दुवै समितिबीच एकता गर्न १८ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कार्यकारी सभापति डा रामचन्द्र अधिकारी र मानार्थ सभापति राजेन्द्रकुमार भण्डारी रहनुहुने भएको छ । दुवैतर्फका पदाधिकारी एवं सदस्य अर्को महाधिवेशन नभएसम्म कायम गर्ने सहमति भएको छ ।

कुनै विषयमा विवाद भएमा कार्यकारी र मानार्थ सभापतिले संयुक्तरुपमा गरेका निर्णयलाई नै आधिकारिक मानिने सहमति पत्रमा उल्लेख छ ।

दुई समितिबीच एकता भएकामा विश्व हिन्दू युवा सङ्घलगायत विभिन्न संस्थाले खुशी व्यक्त गरेका छन् । महासङ्घ राष्ट्रिय समितिलाई पारदर्शी एवं सक्रिय संस्थाका रुपमा अघि बढाउन पनि ती संस्थाले आह्वान गरेका छन् ।

महासङ्घको ४१ औँ स्थापना दिवसका अवसरमा बाँसबारीमा आयोजित एकता घोषणासभामा पूर्वसभामुख तारानाथ रानाभाटले हिन्दूवादी संस्थाबीच एकता आवश्यक रहेका बेला दुई महासङ्घ एक हुँदा करोडौँ नेपालीमा खुशीको सञ्चार भएको बताउनुभयो । दुई महासङ्घबीचको एकताले वैदिक सनातन हिन्दू राष्ट्र बनाउने अभियानमा सहयोग पुगेको उहाँको भनाइ थियो ।

कार्यक्रममा महासङ्घ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्याल, राष्ट्रिय समितिका कार्यकारी सभापति अधिकारी र मानार्थ सभापति राजेन्द्रकुमार भण्डारीले कलियुगमा सङ्गठन नै शक्ति भएकाले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र बनाउने मूल मुद्दामा दुवै महासङ्घबीच एकता भएको घोषणा गर्नुभएको थियो । रासस

सम्बन्धित खबरहरु