काठमाडौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो बरिष्ठ नेता माधब कुमार नेपालसँग भएको एकल भेटवार्ताका सम्बन्धमा मुख खोल्नुभएको छ ।

उहाँले माधब नेपाललाई बोलाएर गुटबन्दी नगर्न सम्झाएको बताउनुभएको छ । मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो ।

नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको छ भन्दै उहाँले नेपालसँग हिजोको भेटलाई इंगित गर्नुभएको थियो । साथै उहाँले आफ्नो यो प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिनुभयो ।

पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’ मैले त्यतातर्फ लागेका सबै नेताहरुलाई सम्झाइरहेको छु उहाँले भन्नुभयो ।

माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो । ओलीले भन्नुभयो, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ ।

अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’ ‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न कसैले खोज्छ भने त्यो अब सम्भव छैन ओलीले थप जोडका साथ उल्लेख गर्नुभयो ।

ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आउनुभएको छ । बुधबार साँझमात्रै ओलीले नेता माधव नेपालसँग छलफल गर्नुभएको थियो भने दिउँसो नेता योगेश भट्टराईसँग सम्वाद गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु