काठमाडौं । अघिल्लो निर्वाचनमा बाम गठनबन्धका तर्फबाट जनताका बीचमा गरिएका बाचा वर्तमान सरकारले पूरा गरिरहेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले बताउनुभएको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको शुभ हीरक जयन्ती महोत्सव उद्घाटन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले संयुक्तरुपमा घोषणा–पत्र जारी गरेर बामगठबन्धनका तर्फबाट जनताका बिचमा गरेका बाचा एमाले नेतृत्वको वर्तमान सरकारले पूरा गरिरहेको बताउनुभएको हो ।

पार्टी एकता लामो समय नटिकेका कारण माओवादीले सरकारलाई पर्याप्त सहयोग नगरे पनि एमालेले सबै चुनावी बाचा पूरा गर्ने अठोट लिएको मन्त्री गुरुङको भनाइ थियो ।

केन्द्रमा धरहरा निर्माण, मेलम्चीको पानी राजधानीमा वितरण गर्नेदेखि राष्ट्रिय गौरवका दर्जनौँ आयोजना सम्पन्न गरिसकेको जनाउँदै मन्त्री गुरुङले १ नम्बर प्रदेशमा पनि पूर्वाधार विकासमा उल्लेख्य काम भएको जानकारी दिनुभयो ।

ओखलढुङ्गाको समग्र विकास र समृद्धिकोलागि ठुलठुला योजनासहित काम अघि बढिसकेको जिकिर गर्दैै उहाँले जिल्लाको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

जिल्लाको समृद्धिको लागि सडक, खानेपानी, विद्युत, सञ्चारलगायत विकासमा गुरुयोजनासहित काम अघि बढेको मन्त्री गुरुङको भनाइ थियो ।

सम्बन्धित खबरहरु