काठमाडौ । आज लोकतन्त्र दिवस । निरकुंश शाही शासनको अत्य गर्दै जनताले जितेको दिन । २०६२–६३ को जनआन्दोलनमार्फत् लोकतन्त्र बहाली भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । यसपालि पनि जनताको जितको स्मरण गर्दै १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

तत्कालीन सशस्त्र विद्रोह गरिरहेको माओवादी र ६ राजनीतिक मिलेर (२०६२–६३) सालमा तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल भएको दिनको रुपमा वैशाख ११ लाई लिइन्छ । २०६२ चैत २४ गते सुरु भएको उक्त जनआन्दोलन २०६३ वैशाख ११ गतेका दिन राजाबाट खोसिएको जनताको अधिकार फिर्ता पाएसँगै अन्त्य भएको थियो ।

निरंकुश शासन अन्त्य भई नेपालमा लोकतन्त्र र गणतन्त्रको मार्ग खुलेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैशाख ११ गतेकै दिन विघटित प्रतिनिधिसभा पुनस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

जनताको नासो जनतालाई नै फिर्ता गरेको उक्त घोषणाअनुसार नै संसद पुनस्र्थापित हुँदै मुलुकमा लोकतन्त्र बहाली मात्रै गरेन, सोही सालको जेठ ४ गतेको प्रतिनिधिसभा बैठकले राजसंस्थालाई सदाका लागि बिदा गर्ने निर्णय समेत गरेको थियो । सोही निर्णयको जगमा मुलुकमा राजतन्त्र समाप्ती भई गणतन्त्रको आधारशिला खडा भयो ।

लोकतन्त्र स्थापनापश्चात संविधान सभाको निर्वाचन भएर लामै रस्साकसीपछि नेपालको संविधान २०७२ बन्यो । सोही संविधानको जगमा मुलुक हाल संघीय शासनमा गएको छ ।

हाल ७ प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहको गठन भएको छ । तर यो व्यवस्था अझ मजबुत, जनमैत्री र प्रभावकारी हुन भने सकेको छैन । उथलपुथलकारी परिवर्तनको विन्दू बनेको वैशाख ११ नेपाली इतिहासमा अविस्मरणीय छ ।

 

सम्बन्धित खबरहरु