काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो ।

नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गर्नुभयो । सिरिजमा उहाँले चौथो अद्र्धशतक प्रहार गर्नुभयो । एउटै सिरिजमा चौथो अद्र्धशतक बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाउनुभयो । उहाँले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हान्नुभयो ।

यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिनुभयो । कुशल मल्लले अद्र्धशतक प्रहार गर्नुभयो । उहाँले २४ बलमा अविजित ५० रन बनाउनुभयो । सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हान्नुभयो ।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाउनुभयो । उहाँले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गर्नुभयो । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिनुभयो ।

विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाउनुभयो ।

यस्तै कप्तान पिटस शेलारले १३ रन बनाउनुभयो । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिनुभयो । उहाँले अविजित २६ रनको योगदान दिनुभयो । अन्य खेलाडीले भने रन बनाउन सक्नुभएन । नेदरल्याण्डसका दुई खेलाडी रनआउट हुनुभयो ।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गर्नुभयो ।

उहाँले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिनुभयो । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्नुभएको छ । उहाँले पाँच खेलमा १३ विकेट लिनुभयो ।

सम्बन्धित खबरहरु