प्रत्येक माटोको ढुक–ढुकिसँग
मेरो प्रीत जोडिएको छ
प्रत्येक माटोको
कण कणसँग
मेरो सजीव आत्मा
गाँसिएको छ ।

खेतका सुन्दर नागबेली परेका
कान्ला–कान्लामा
मेरो प्राचीन नाता अद्यावधिक
सुरक्षित छ ।

म त्यो हरियालीमा रमाउछु
जहाँ मेरो अत्यन्त खुशीको
मुस्कान देखिन्छ
ती हरिया डाँडा
सदाबहार बृक्षहरु, लताहरु
मेरो सम्झनामा
पुलकित भएर
हल्लिरहेको
म आज पनि महसुस गर्दछु ।

बनका पशु पन्क्षी
पोथ्रा संगको रसिलो प्रीत
आज पनि आँखा अगाडि
झुम्दैछ
ती कन्चन झरना
नदीको कल–कल ध्वनी
अनि तलाउको मत्स्य नृत्यको
चपलता
आज पनि मेरो
आँखाका नानीमा
घुमिरहेका छन् ।

बिहानीको उषाकिरणसँगै
मन्दिरको घण्टीको
मधुर ध्वनिले
आज पनि मलाई
उठन संकेत गर्दछ
मेरा आनन्द र आस्थाका प्रतीक
ती मन्दिरहरु सदा
मेरो हृदय मन–मन मस्तिष्कलाई
जागरण दिइरहन्छन् ।

यसै प्रतिको अगाध
बिश्वास श्रदा र भक्तिले
मलाई मेरो जन्म स्थान
दिनहुँ पुर्याएको हुन्छ
त्यसको प्रत्येक कण–कणमा
म त्यही रसिएकोछु
अनि मेरो शरीर
टाढा भएर के भो ?

म सदा त्यही छु
म सदा त्यही छु ।

गंगा लिगल
जन्मस्थान : तानसेन, पाल्पा
हाल : सिद्धार्थनगर, भैरहवा

सम्बन्धित खबरहरु