काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) तिब्र गतिमा बढेपछि चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्ने विकल्पका बारेमा निर्णय लिन संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक बसिरहेको छ । अपरान्ह ३ बजेदेखि बैठक जारी छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गर्नुभएको थियो ।

छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिइएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बसिरहेको छ ।

सीसीएमसीका संयोजक उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बैठक जारी रहेको पुष्टि गर्नुभयो । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

यसैबीच, आइतबार दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताउनुभएको थियो ।

उहाँका अनुसार काठमाडौ लगायतका ठूला सहर र धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा लडडाउन लगाउनसक्ने देखिन्छ ।

 

सम्बन्धित खबरहरु