काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जसरीपनि ढाल्ने स्पष्ट पारेको छ । तर प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदको संख्या नपुगेको बताएको छ । प्रस्ताव पारित हुने संख्या पुगिनसकेका कारण कांग्रेस नै प्रस्ताव दर्ता गर्न अघि नसरेको नेता तथा कार्यकर्तालाई स्पष्ट पारेको छ ।

यसबारे आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पनि छलफल भएको थियो। यसबारे कुनै ठोस निर्णयमा भने कांग्रेस पुगेको छैन। उपसभापति विमलेन्द्र निधिका अनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउने पार्टी निर्णयअनुसार पहल जारी छ।

उहाँले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्तावबारे अहिले नै संख्या यकिन भइनसकेका कारण त्यो गृहकार्य जारी रहेको छ । ‘संख्या नपुग्दाखेरि अविश्वास प्रस्ताव दर्ता गर्नु वुद्धिमानी हुँदैन। पूर्ण तयारी नगरीकन अविश्वास प्रस्ताव आउँदैन, पहल हुँदैछ,’ उहाँले भन्नुभयो ।

अविश्वास प्रस्ताव पारित हुने गरी ल्याउनु पर्ने पनि उहाँको भनाइ छ। यदी पारित भएन भने एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संवैधानक व्यबस्था छ । यही कारण कांग्रेस हच्किएको छ । कांग्रेसले नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल पनि गरेको थियो।

माओवादीले ओली सरकारको विकल्पमा कांग्रेसलाई समर्थन गर्ने जनाए पनि जसपाले निर्णय दिइसकेको छैन। उहाँकाअनुसार आजको बैठक कांग्रेस महाधिवेशन तयारी र बढ्दो कोरोना संक्रमणबारे केन्द्रीत थियो।

कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय समिति बैठक पनि सारेको छ। केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरी त्यसको रिपोर्ट प्राप्त भइसकेपछि वैशाख १५ गते केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

 

सम्बन्धित खबरहरु