काठमाडौ । नेपालमापनि कोरोना भाइसर (कोभिड–१९) का संक्रमितको ग्राफ ह्वात्तै बढेको छ । भारतका दारुणीक दृष्य जस्तै दृष्यहरु नेपालमापनि देखिन थालिसकेका छन् । हरेक दिन संक्रमित संख्या उच्च रहेको वीरगन्जको नारायणी अस्पतालमा भारतको जस्तै दृष्य देखिन थालेको छ ।

त्यहाँ बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे । उनीहरुले अब आफूहरुले धान्न सक्ने अवस्था रहेन भन्दै चित्कार राज्यलाई सुनाउन थालेका छन् ।

बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा. नीरज सिंहले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक पेजमा उहाँले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेख्नुभएको छ ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २–३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ ।’
तस्विर डा. नीरज सिंह

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु परेको छ डा. सिंहले भन्नुभयो ।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ । यो आवाज बाहिर आएपनि राज्यस्तरमा कुनै सर्पोट भएको छैन । थप बेड बनाउने वा थप चिकित्सक पठाउने निर्णय अहिलेसम्म भएको छैन ।

 

सम्बन्धित खबरहरु