काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप खरीद सल्लाहकार समितिको बैठकमा मास्क नलगाई बसेकोमा थाइ प्रधानमन्त्री कारबाहीको भागिदार बनेका छन् ।

सार्वजनिक बैठकमा मास्क नलगाएपछि थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुथ चान ओचले ६००० थाई भाट (१९० डलर) जरिवाना तिर्नु परेको हो । बैंककमा बसेको कोभिडबिरुद्धको खोप खरीद सल्लाहकार समितिको बैठकमा प्रधानमन्त्री ओचले भने मास्क लगाएका थिएनन् ।

स्थानीय सरकारले राजधानी बैंककमा आजै देखि नै हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरेको थियो । बैठकमा मास्क विना नै बसेको फोटो सामाजिक सञ्जालमा आएपछि बैंककका गर्भनरले प्रधानमन्त्रीमाथि कारवाही ठोकिदिएका हुन् ।

‘बैठकमा सबै व्यक्तिले मास्क लगाएका छन् । तर प्रधानमन्त्रीले नै मास्क लगाएको देखिएन । यो त सरकारले बनाएको नियमको उल्लंघन गरेको भयो । त्यसकारण हामीले तत्काल छानवीन कमिटी बनायौँ र जरिवाना तिराउने निर्णय गरयौँ,’ बैंककका गर्भनर क्वानमुआङले भने ।

उनले त्यसअघि मास्क लगाउनुपर्ने नियमको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री विरुद्ध प्रहरीमा उजुरी गरेको बताए । सामाजिक सञ्जालमा प्रधानमन्त्रीप्रति आलोचना बढेपछि स्थानीय प्रशासनका कर्मचारीहरु सक्रिय भएका थिए । उनीहरुकै पहलमा प्रधानमन्त्रीलाई जरिवाना तिराउन बाध्य भएको हो ।

बैंककमा मास्क नलगाउँदा २० हजार भाटसम्म जरिवाना लगाउन सक्ने कानून छ । प्रधानमन्त्रीलाई पहिलो पटक भएको हुनाले ६ हजार भाट मात्रै जरिवाना तोकिएको गर्भनर क्वानमुआङले भने ।

 

सम्बन्धित खबरहरु