कास्की । गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा खैलाबैला सुरु भएको छ । कोरोना संक्रमित सांसदलाई समेत मतदान गराएर सरकारबिरुद्धको प्रस्तावमा मतदान गराउनेगरी बैठक सुरु भएको छ । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि त्यहाँ खैलाबैला सुरु भएको छ ।

प्रदेश सभाको विशेष अधिवेसनमा टेबल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा बुधबार नै मतदान गर्ने कार्यसूची छ। मतदान गर्ने समयसम्म सांसद शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन्छ। अविश्वास प्रस्ताव पास हुन ६० सदस्यीय प्रदेश सभामा ३१ मत पुर्‍याउनुपर्छ।

अविश्वास प्रस्तावमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्। उक्त प्रस्तावको पक्षमा मतदान गर्न ३ जना सांसद रहेको जनमोर्चा केन्द्रिय समितिले निर्देशन दिएको थियो। गण्डकीमा सरकार जोगाउन वा नया सरकार गठन गर्न जनमोर्चाको भुमिका निर्णायक छ।

प्रदेश सभामा सहभागी जनमोर्चाका सांसद यही सरकार निरन्तरता दिने पक्षमा थिए। पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्नभन्दा बैठकमा सहभागी नभई सरकार जोगाउन सांसद शाही हराएको आशंका बढेको छ।

बाग्लुङबाट प्रदेश सभाको उपनिर्वाचनमा तत्कालिन नेकपाको समर्थनमा विजयी सांसद शाहीको मोबाइल अफ छ। यसबारे जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले प्रतिक्रिया दिन चाहेनन् । उनी बैठकमा अनुपस्थित भए फ्लोर क्रस भएको समेत मानिने छैन । उनले बिरामी भएको वा उपस्थित हुन नसकेको जानकारी सदनलाई गराउनेछन् । यसो हुँदा फ्लोर क्रस मानिने छैन ।

 

सम्बन्धित खबरहरु