काठमाडौ । राष्ट्रिय जनमोर्चाका सांसद हराएको भन्दै खैलाबैला भएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उहाँको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दर्ता गराउनुभयो । प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिनुभयो ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको मत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध खस्ने गरी रणनीति बनेको थियो ।

तर प्रस्तावलाई फेल गराउने गरी अर्को चाल चालियो । राष्ट्रिय जनमोर्चाका एक जना सांसदलाई बैठकमा नै अनुपस्थित हुनेगरी एमालेले रणनीति लिएको सरकारको विपक्षमा उत्रिएकाहरुको दावी छ । खिमबिक्रम शाही प्रदेशसभा परिसरमा नदेखेपछि सांसदहरुले बैठकको कारबाही रोक्न माग गरेका थिए ।

चारवटै दलको मत अविश्वासको प्रस्तावको पक्षमा खसेमा मुख्यमन्त्रीविरुद्धको प्रस्ताव पारित हुन्थ्यो । निर्णायक मत एक या दुईमात्र हुने भएकाले त्यही संख्यामा यो अवस्था आएपछि सभामुखसँग बैठक रोक्न माग गरियो । उनीहरुकै पक्षमा उभिएर सभामुखले बैठक रोकिदिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।

काँग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३, जसपाका २ र दिपक मनाङे स्वतन्त्र सासद छन् । जनमोर्चाबाट अविश्वासको प्रस्तावको विपक्षमा जाने गरी फ्लोर क्रस हुने देखिएसँगै बैठक रोकिएको प्रष्ट छ ।

 

सम्बन्धित खबरहरु