वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो ।

उहाँले नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको डा दासले जानकारी दिनुभयो । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।

एकैदिन भेटिए १७५ सङ्क्रमित

दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा दासले जानकारी दिनुभयो ।

उहाँले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताउनुभयो । यससँगै पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु