काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहलाई संक्रमण भएर निको भएका व्यक्तिको प्लाज्मा दिइएको छ। यसलाई प्लाज्मा थेरापी भनिन्छ । बिहीबार नर्भिक अस्पतालले उहाँलाई प्लाज्माद्वारा उपचार गरेको हो। प्लाज्मा दिएपछि शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा. जेपी जैसवालले भन्नुभयो । उहाँका अनुसार आइसियूमै राखेर पूर्वरानी शाहको उपचार भइरहेको छ।

उहाँलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ। ‘प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन मिल्दैन,’ जैसवालले बताउनुभयो । भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण भएको थियो।

वैशाख ७ गते उहाँहरू नर्भिकमा भर्ना हुनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि कोमललाई बुधबार आइसियूमा राखिएको थियो। पूर्वराजा ज्ञानेन्द्रको भने अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबरहरु