काठमाडौं । भारतमा कोरोना संक्रमणका लागि मुख्य जिम्मेवारका रुपमा हेरिएको महाकुम्भ मेलामा झण्डै एक करोड भक्तजन सहभागि भएको खुलेको छ । हरिद्वारमा आयोजित महाकुम्भका आयोजकहरूले यस वर्षको महाकुम्भमा कम्तिमा ९१ लाख मानिस उपस्थित भएको बताएका हुन् ।

हिन्दुस्तान टाइम्समा बिहीबार प्रकाशित एउटा समाचार अनुसार आयोजक कुम्भ मेला फोर्सले १४ जनवरीदेखि २७ अप्रिलबीच ९१ लाख मानिसले गंगामा नुहाइसकेको जनाएको छ ।

यी मध्ये करिब ६० लाख अप्रिलमा नुहाउन गंगा पुगेका थिए, जब भारत कोरोना महामारीको दोस्रो लहरको प्रकोपसँगै लड्दै थियो । १२ अप्रिलमा सोमवती अमावस्याको अवसरमा ३५ लाख मानिस भेला भएका थिए भने यसभन्दा अघि ११ मार्चमा महाशिवरात्रिमा ३२ लाख मानिस गंगा स्नान गर्न पुगेमन थिए ।

१४ अप्रिलमा १३ लाख मानिस दोस्रो शाही स्नानको लागि पुगेका थिए । बढ्दो कोरोना संक्रमणलाई लिएर महाकुम्भ आयोजना गर्न दिने भारत सरकारको आलोचना विश्वभर भइरहेको छ ।

अखबारका अनुसार कुम्भ मेलामा कम्तिमा सय जना साधु र निष्पक्ष अधिकारीहरू संक्रमित भएका छन् भने चारजनाको मृत्यु भएको छ । महाकुम्भ पुगेर फर्केपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति पनि कोरोना संक्रमित भएको छ । उनीहरुको अहिले नर्भिक अस्पतालमा उपचार हुँदैछ ।

सम्बन्धित खबरहरु