काठमाडौ । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएको एक घण्टापनि बित्न नपाउँदै सरकार ढलेको छ । नेकपा एमालेका तीन जना सांसदले पदबाट राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । उहाँहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिनुभएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएसँगै पोखरेलको सरकार अल्पमतमा परेर ढल्ने निश्चित बन्यो ।

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको एक जना सांसदले जानकारी दिनुभयो । यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिनुभएको थियो ।

अविश्वासको प्रस्ताव छल्नलाई उहाँले यो रणनीति अपनाउनुभएको थियो । उहाँको राजीनामापछि सांसद विमला वली (खत्री) जो उपनिर्वाचनमा नेकपाबाट विजयी हुनुहुन्थ्यो उहाँले माओवादी केन्द्र प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।

त्यसपछि पोखरेलले भनेजस्तो उहाँको पक्षमा बहुमत पुगेको थिएन। यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभयो ।

यो विषय राजनीतिक बहसको विषय बनिरहेका बेला थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ। मन्त्रीमण्डल नबनाउँदै ढल्ने भएको छ ।

 

सम्बन्धित खबरहरु