काठमाडौ । राजधानी काठमाडौमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले भयावह रुप लिन थालेको छ । यहाँ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बदैगएपछि भयावह दृष्य देखिन थालेको छ । काठमाडौं उपत्यकामा अहिले मृतक व्यवस्थापन हम्मे हम्मे हुन थालेको छ ।

संक्रमितहरुको लाश व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको लाश काठमाडौमा नै व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा लाश व्यवस्थापन गरेको थियो ।

सोमबार दिउँसो २ बजेसम्म २७ वटा लाश व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६–२६ जनाको लाश व्यवस्थापन गरिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको लाश पशुपति आर्यघाटमा विद्युतीय गृहमा मात्र व्यवस्थापन गर्न समय पुग्न छाडेको छ । पालो नै नआउने भएपछि वाग्मती नदी किनारमा सामूहिक रुपमा अन्तिम संस्कार गर्न थालिएको छ । ‘दिनमा २० देखि ३० वटा लाश व्यवस्थापन गर्नुपर्ने हुन्छ, विद्युतीय गृहबाट मात्र सम्भव नहुने भएकाले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर बाहिर पनि अन्तिम संस्कार गर्न थालिएको छ ।

विद्युतीय गृहमा एउटा व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने संख्या बढ्दै गएपछि विद्युतीय गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा अन्तिम संस्कार गर्न थालेको हो ।

संक्रमितको व्यवस्थापनका लागि मात्र सेनाले वाग्मती नदी किनारमा ८ वटा स्थान बनाउने तयारी गरेको छ । यी दृष्य हेर्दा भारतको दिल्लीको जस्तो देखिन थालिसकेको छ ।

 

सम्बन्धित खबरहरु