काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुन फेला परेको छ । अवैध सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए । एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’ नेपाल प्रहरीको अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् । यसअघि के कति परिणाममा सुन ल्याए भन्ने अझै खुलेको छैन । नेपालका सुन व्यबसायीहरुले निषेधआज्ञाभरी बैकहरुबाट सुन खरिद नगर्ने बताएका छन् ।

कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो–सानो परिमाणमा यसरी नै सुन भित्र्याउने गरेका छन् ।

 

सम्बन्धित खबरहरु