झापा । झापाको मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन ।

आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले प्रयास गरे तर ६ घण्टासम्मपनि नियन्त्रणमा आएन । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका थिए ।

तैपनि कारखानाभित्र दन्किरहेको आगो लामो समयसम्म नियन्त्रण बाहिर रह्यो । कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परेको अग्नि नियन्त्रणमा खटिएकाहरुले जनाएका छन् ।

धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए । आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।

 

सम्बन्धित खबरहरु