काठमाडौं । विवाहको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

झण्डै तीन दशक सँगै जीवनयात्रा गरेका उनीहरुले एक अर्काबाट छुट्टिएर जाने घोषणा गरेका हुन् । विवाह गरेको २७ वर्ष पछि दुवैले सम्बन्ध विच्छेदको घोषणा गर्दा सबै हैरान छन् ।

उनीहरुले भनेका छन्, ‘हामी हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्दैछौं । जीवनको अर्को चरणमा हामी अब सँगै अगाडि बढ्न सक्दैनौं । यद्यपि हामी जनताको भलाइका लागि हाम्रो जगमा मिलेर काम गर्ने छौं ।’

सामाजिक सञ्जालमा जारी गरिएको संयुक्त बयानमा बिल र मिलिन्डा गेट्सले भनेका छन, ‘धेरै विचार विमर्श र आपसी कुराकानीपछि हामीले हाम्रो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छौं ।

पछिल्ला २७ बर्षमा, हामी ठूला तीन बच्चाहरु हुर्काइरहेका थियौं । हामीले एक फाउन्डेसन पनि गठन गरेका छौं, जसले संसारभरिका मानिसहरूका स्वास्थ्य र उत्तम जीवनका लागि काम गर्दछ ।

हामी अझै पनि उही सोच राख्नेछौं र यस मिसनको लागि सँगै काम गर्नेछौं । यद्यपि, अब हामी महसुस गर्छौं कि हामी आउँदो समयमा पति र पत्नीको रूपमा सँगै बस्न सक्षम हुनेछैनौं ।

हामी हाम्रो जीवनमा एक नयाँ शुरुआत गर्न जाँदैछन् । यस्तो अवस्थामा, मानिसहरूबाट हाम्रो परिवारको लागि ठाउँ र गोपनीयताको अपेक्षा गर्छौँ ।’ बिल गेट्स र मिलिन्डाबीच पहिलो पटक १९८७ मा भेट भयो । चिजान बढ्दै गएपछि सन् १९९४ मा उनीहरुको विवाह सम्पन्न भयो ।

बिल गेट्स विश्वका सब भन्दा धनी व्यक्तिहरूको स्थानमा लामो समय पहिलो स्थानमा रहेका थिए । अहिले उनी चौंथो स्थानमा पर्छन् । यस बाहेक उनीहरु सामाजिक सेवासँग सम्बन्धित कामका लागि पनि परिचित छन् ।

सम्बन्धित खबरहरु