काठमाडौ । सरकारी अस्पताल जानुस ज्यान घर आउदैन, निजी अस्पताल जानुस आउदा घर रहँदैन यो स्लोगन अहिले सामाजिक सञ्जालमा खुबै चर्चित छ । यही स्लोगन हामीले किन टिप्यौँ भने चर्चित पत्रकार रोहित दाहालले यही स्लोगन टिपेर सामाजिक सञ्जालमा लेखे "भोगेकोले हो कि मन छोयो" ।

उनीपनि भर्खरै मात्र कोरोना भाइरस संक्रमित भएका थिए । त्यसपछि काठमाडौको धुम्बराहीस्थित ह्याम्स अस्पताल र काठमाडौँ मेडिकल कलेज (केएमसी) को उपचारका लागि भर्ना हुँदा लिने कोठाको शुल्क मात्रको एक–एक सूची बाहिरियो ।

त्यसमा एक दिनको नै ५० हजार भन्दा माथी शुल्क त्योपनि कोठाको शुल्क मात्र तोकिएको सूची अहिले सामाजिक सञ्जालमा खुबै भाइरल छ । कोठाको शुल्क मात्र यति छ भने उपचार गर्दा कति खर्च लाग्ला ? हामी भन्छौ नी ।

ह्याम्समा एउटा रुमको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । उक्त अस्पतालले ७ हजारदेखि ५० हजारसम्म एकै रुमको लिएको र त्यसरी लिएवापत कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको पाइएको छ ।

त्यहाँ उपचार गर्ने विरामीलाई प्रशासनले सिंगो मन्त्रालय हाम्रो हातमा छ, तपाईहरु जहीँसुकै गएर उजुरबाजुर गर्नुस् भनी उल्टै चेतवानी दिने गरेको पीडितहरुले सुनाएका छन् ।

‘किन यति धेरै पैसा ? भनी प्रश्न गर्दा विरामीको उपचार ठूलो कुरा हो । धेरै कुरा नगर्नुस् । मन्त्रालयका मन्त्रीदेखि सचिव सबै हाम्रै हातमा हुन् भन्दै तर्साइयो,’ एक पीडितले गुनासो गरे ।

बाहिर आएको सूचीमा ह्याम्स अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ । यो बेडको मात्र मूल्य हो । अन्य औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अन्य शीर्षकमा लाखौं असुल्ने गरिएको छ ।

एक दिन मात्र बेड भर्ना हुँदापनि लाखौँको बील आएको छ । महिनौ अस्पताल बस्नु पर्यो भने जो कोही नेपाली धनाढ्यको घर बाँकी रहला ? पाखामा छाप्रो बनाएर बसेका अधिकांश नेपालीले उपचार पाउलान् ? यो सोचनीय बिषय बनेको छ ।

सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला मानवीय संवेदना गुमाई अस्पतालहरुले लुटधन्दा चलाएको तर सरकार मौन बसेको भन्दै जनता आक्रोशित बनेका छन् ।

ह्याम्ससँगै सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) समेतले लाखौं लुटेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड भनिएको छ । तर यो अस्पताल अब पब्लिक लिमिटेड रहेन । यसले एक सूची जारी गरेको छ ।

बैशान १९ गते राति ६ बजेदेखि लागू भएको शुल्क दर भनिएको छ । जसमा कोभिड क्याबीन सिंगल बेड प्रति दिन २० हजार, कोभिड क्याबीन डबल बेड १० हजार, कोभिड क्याबीन डिलक्स २५ हजार र कोभिड क्याबीन सुपर डिलक्स ३० हजार तय गरिएको सूचनामा उल्लेख छ । यो सूची अहिले सर्वत्र भाइरल भइरहेको छ ।

यता सरकारी अस्पतालमा संक्रमितको विजोग छ । बेड नपाएर, अक्सिजन नपाएर आकस्मिक कक्षमा नै संक्रमितको मृत्यु भइरहेको छ । यसले गर्दा नेपालमा अहिले सरकारी अस्पताल जानुस ज्यान घर आउदैन, निजी अस्पताल जानुस आउदा घर रहँदैन स्लोगन एकदम नै मिलेको जस्तो देखिन्छ ।

यो खबर आएपछि सरकारले एक्शन लिएको खबर चाँडै प्रकाशन गर्न पाइयोस् । सबै नागरिकले उपचार गर्न सक्नेगरी सर्वसुलभ बनाइयोस् । महामारीका बेला सबैलाई समान गरियोस् । बिरोध र यो मागका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु