काठमाडौ । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं सहित मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् ।

पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय काठमाडौबाट मात्र अनुमति दिइन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थल सहित मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको छ । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट लागु हुने गरी आन्तरिक सेड्यूल उडान बन्द गरेको छ । भोलि (बिहीबार) बाट अन्तराष्ट्रिय सेड्यूल उडान बन्द हुनेछन् ।

तर, यसबीचमा मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि हुने चार्टर उडान भने गर्न सकिने छ । कार्गो र चार्टर्ड उडान लगातार हुनेछन् ।

प्राधिकरणले सम्बन्धित कार्यालयलाई अधिकार प्रत्यायोजन गरि जारी भएका उडान अनुमतिको विवरण प्रधान कार्यालयमा पठाउन समेत कार्यालयहरुसँग अनुरोध गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण गम्भीर प्रकृतिका बिरामीको हेलि उद्धारको काम समेत देशभर भइरहेको छ । यी कार्यालयबाट अनुमति लिइ हेलि उद्धार समेत लगातार हुनेछन् ।

 

सम्बन्धित खबरहरु