काठमाडौ । भारतमा देखिएका दृष्यपछि अधिकांश नेपालीले त्यहाँको त्यो अवस्था चाँडो अन्त्य होस् र नेपालमा यस्तो देख्नु नपरोस् भगवान भन्दै ईश्वर पुकारिरहेका थिए ।

जे देख्नु नपरोस् भगवान भनेको त्यही देख्नुपर्ने हुन थाल्यो, ठाउँ अभाव हुन थालेपछि वाग्मती किनारमा सामूहिक अन्तिम संस्कार गर्नुपर्ने हुन थालेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु संख्या बढ्दै गएपछि पशुपति क्षेत्रमा अस्थायी स्थल निर्माण थालिएको छ ।

वाग्मती किनारमा व्यवस्थित स्थान नहुँदा व्यवस्थापनमा कठिनाइ भएपछि १० वटा स्थान बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको विगतमा विद्युतीय गृहमा मात्र व्यवस्थापन गरिन्थ्यो । तर पछिल्ला दिनमा कोरोनाबाट हुने मृत्यु संख्या बढेपछि वाग्मती किनारमा अन्तिम संस्कार गर्न थालिएको छ । तर सो क्षेत्रमा व्यवस्थित स्थान नहुँदा व्यवस्थापनमा समस्या हुँदै थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोरोना संक्रमित मृतकको व्यवस्थापनका लागि आवश्यकता अनुसार स्थान बनाउन थालिएको बताए । पशुपतिको विद्युतीय गृहका तीनवटा मेसिनमध्ये एउटा बिग्रिएको छ ।

तीनवटै मेसिन चालु रहेको अवस्थामा उक्त गृहमा दिनमा ४५ वटा सम्म व्यवस्थापन गर्न सकिन्छ, तर मेसिन बिग्रिएको र व्यवस्थापन गर्नुपर्ने संख्या बढेपछि स्थान बनाउन थालिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए ।

१० वटा स्थान बनाएपछि विद्युतीयगृहमासमेत गरी दिनमा ९० वटासम्म व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । संक्रमितको मृत्यु भएमा तत्कालै व्यबस्थापन गर्नुपर्ने हुन्छ । अन्यथा संक्रमण फैलिने देखिन्छ । यसैले व्यबस्थापन गर्न थालिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://youtu.be/3zOoFvAF9GA

सम्बन्धित खबरहरु