काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको एकीकृत रिपोर्ट भने अझै आइनसकेको बताउनुभयो ।

संक्रमित सांसदलाई संसद बैठकमा बस्ने व्यवस्था गर्ने वा नगर्ने र प्रधानमन्त्रीले विश्वासको मत माग्दा मत व्यक्त गर्ने व्यवस्था कसरी मिलाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

दलहरुबीच सहमति जुटेको खण्डमा संसद सचिवालयले व्यबस्था गर्न सक्नेछ प्रवक्ता पाण्डेले बताउनुभयो । संसद बैठक अघि बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने प्रचलन छ । कार्यव्यवस्था परामर्श समितिमा सहमति भएअनुसार नै संसद बैठक अघि बढ्नेछ ।

 

सम्बन्धित खबरहरु