काठमाडौ । राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। जेठ ६ गते उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव समूह) नेकपा एमाले (माधबकुमार नेपाल समूह) लगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्।

देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ।

नेकपा मा‌ओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहाँबाट निर्वाचित भएका थिए। उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो।

कारवाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो। यहाँ गृहमन्त्री बादललाई नै नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन। बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन।

केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताएका थिए। स्रोतकाअनुसार मत आँकलन गर्ने र जित्ने भए मात्रै आफू उम्मेदवार हुने अडान बादलले राखेका छन्। तर हार्ने चुनाव आफू नलड्ने बादलको स्पष्ट लाइन छ । यो निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

 

सम्बन्धित खबरहरु