काठमाडौं । आजको दिन धार्मिक रुपमा एकदम विशेष रहेको छ । आज वरुथिनी एकादशी हो । वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भन्ने गरिन्छ । यस दिनमा शास्त्रअनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ ।

यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिएको छ । शास्त्रमा नै उल्लेख भए अनुसार तिल दान भन्दा पनि सुन दानलाई अझ महत्व दिइएको छ । त्यस्तै, सुन दान भन्दा अन्न दान, अन्नदान भन्दा कन्यादान अझ विशेष महत्व बोकेको हुन्छ ।

यसैलाई बैशाख कृष्ण पक्षको एकादशी भन्ने गरिएको छ । वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको थियो ।

कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्दा पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यस एकादशीको ब्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ ।

दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ । यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै बैकुण्ठ लोक जान पाउने धार्मिक आस्था रहेको छ ।

सम्बन्धित खबरहरु