काठमाडौं । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमाथि अविश्वास गर्ने कुनै आधार नभएको बताउनु भएको छ ।

आफु नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको उहाँले स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष समेत रहनु भएका उहाँले सरकार सबै पक्षसँग छलफल गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न आफू तयार रहेको पनि जिकिर गर्नुभयो । विश्वासको मत माग्दै उहाँले अब विभाजनको राजनीति समाप्त भइसकेको दाबी गर्नुभयो ।

देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब कुनै विवाद नरहेको उहाँको बुझाई रहेको छ । अराजनीतिक र गैरकानुनी काम गर्नेहरूलाई सरकारले अनुहार हेरेर नछाड्ने पनि उहाँले खुलस्त पार्नुभयो । साथै, उहाँले अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको ठोकुवा गर्नुभएको छ ।

सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वासको मत दिनुपर्ने उहाँले बताउनुभयो । सम्बोधनमा प्रधानमन्त्री ओलीले राजमार्ग, झोलुङ्गे पुल, सुरुङ मार्गसहित विकास निर्माणका काममा अहिलेको सरकारले ठुलो प्रगती गरेको दावा गर्नुभयो ।

 

सम्बन्धित खबरहरु