काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो ।

प्रमुख सचेतक खाणले आज शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्वजिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०१८ देखि कांग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतीत गर्नुभएको उल्लेख गर्दै कांग्रेस संसदीय दलले उहाँको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ ।

कांग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) का नेता पशुपति चौलागाईँका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक खाणले आज छुट्टै शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

चौलागाईँ २०५६ सालमा दोलखाबाट प्रतिनिधिसभा सदस्य, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खबरहरु