काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय आज साँझ ९ बजे समाप्त हुँदैछ । यो बीचमा नेताहरुले भेटवार्तालाई तीव्र बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २७ गते विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिनु भएको थियो ।

बूढानीलकण्डमा प्रचण्ड र देउवाबीच छलफल भएको हो । यसअघि देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो । ठाकुरसँगको भेट सकारात्मक नभएपछि देउवाले प्रचण्डसँग छलफल गर्नुभयो ।

कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तयारी थालेको भए पनि बहुमत पुर्याउन सकस परेको छ ।

अर्कोतिर एमाले अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद समाधानका लागि बिहीबार बिहानैदेखि छलफललाई तीब्रता दिनु भएको छ । आजै प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

सम्बन्धित खबरहरु