काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री फेरी नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उहाँको शपथका लागि राष्ट्रपति कार्यालय शितल निवासमा समारोहको तयारी भइरहेको छ । शपथ आज शुक्रबार अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको जनता समाजवादी पाटीं (जसपाको ) एक समूहले बहुमत जुटाउन असफल भयो । ओलीले नेतृत्व गरेको एमालेले सरकार बनाउँन हैन विपक्षीलाई बहुमत पुग्न नदिने कसरतमा लाग्यो ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओलीलाई साथ दिए । उनीहरुले नयाँ सरकार गठनका लागि साथ दिएको भए विपक्षीको सरकार बन्थ्यो ।

यसैगरी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिने दावी गरेका थिए । अन्तिम समयमा आएर त्यो सम्भावनापनि टर्यो । बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकार नबन्दै भत्कियो । उसले सरकारका लागि दाबी नै गरेन ।

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिनुभएको हो । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ ।

त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ । धेरै दल मिल्दा त सरकार बन्न सकेन भने कुनै व्यक्तिको नाममा सरकार बन्ने अवस्था देखिन्न । ओलीले विश्वासको मत नलिएको अवस्थामा चुनाव नै हो भन्ने देखिन्छ । एक राजनीतिक विश्लेषकले भने किनकी ओलीले त्यही चाहानुभएको छ ।

 

सम्बन्धित खबरहरु