काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका गायक प्रकाश सपुतले आम जनमानसलाई उपयुक्त तरिका दिएका छन् । उनले उच्च आत्मबलले कोरोना भाइरसलाई जित्न सकिने बताएका छन्।

गत मंगलबार कोरोना भाइरस संक्रमणमुक्त भएका गायक सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई आत्मबल उच्च राख्न सके कोरोना भाइरसलाई जित्न सकिने बताएका हुन् ।

गायक सपुत र उनका भाइ देवेन्द्र कोरोना भाइरस संक्रमणमुक्त भएपनि आमा कोरोना संक्रमित छिन्। आमा बलियो आत्मविश्वासका साथ कोरोना भाइरससँग जुधिरहेको र छिट्टै कोरोना भाइरसलाई जित्ने विश्वास लिएको उनले लेखेका छन् ।

‘आमा बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ,’ उनले पोस्ट गरेका थिए, ‘आमाले पनि कोरोना भाइरस जित्नुहुनेछ। आमाको मुख हेर्ने दिन हामीले दुरी कायम गरेर भएपनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्‍यौं। आफू सुरक्षित र सकारात्मक भएर सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न अनुरोध गर्दछु।’

गायक सपुतलाई वैशाख १६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए। त्यसपछि उनका भाइलाई समेत संक्रमण पृष्टि भएको थियो।

उनले ‘मेरो पनि हैन र यो देश ?’ गीत सम्पादनको क्रममा शारीरिक रूपमा कमजोर महसुस गरेको थिए। ‘कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा फैरिरहँदा मलाई चाँहि गीत सम्पादन गरिरहँदा कमजोर महसुस भएको थियो,’ उनले स्मरण गरे, ‘कामको धपेडीले थकित महसुस भएको होला भनेर वेवास्ता गरियो।

भोलिपल्ट शरीर दुख्यो। सुत्न समेत नसकेपछि शंका लाग्यो र अर्को दिन गएर कोरोना भाइरसको पीसीआर टेस्ट गराएँ। रिपोर्ट पोजिटिभ आएपछि चार दिन सकस भयो। ज्वरो र खोकी भने देखिएन।’

मानसिक रूपमा कमजोर हुँदै गएको अनुभव उनले गरेका थिए। ‘अब म मर्छु भन्ने महसुस भइरह्यो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको थिएँ। जिब्रोमा स्वाद थिएन।

खाना खान मन नलागेपनि जवरजस्ती खाइन्थ्यो। गीत रिजिल भएको हुँदा प्रतिक्रिया सुनेर केही राहत भएको थियो। यसले मलाई उच्च आत्मबल दिएको थियो। जसले गर्दा कोरोना भाइरस संक्रमणमुक्त हुन सकेंजस्तो लाग्छ।’

 

सम्बन्धित खबरहरु