काठमाडौं । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार चाईनिज अक्सिजन सिलिण्डर नेपाल भित्रिएका छन् । सडक मार्ग हुँदै नेपाल पठाईएका अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

नेपाल भित्रिएको सूचना आइसकेको छ उक्त अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको सल्लाहकार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो सिसिएमसीका संयोजकको मातहतमा अक्सिजन सिलिण्डर नेपाल भित्रिएको खबर आएपछि त्यसलाई तत्कालै काठमाडौ ल्याउने तयारी भइरहेको छ । अति आवश्यकता हेरेर हेलिकप्टरबाट नै लिफ्ट गर्ने योजना सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले बताउनुभयो ।

कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको छ । अक्सिजन प्लाण्ट बढाएर अक्सिजन उत्पादन बढाउनपनि सरकारले पहल गरिरहेको छ । सबै विकल्प तयार भइरहेका छन् ।

 

सम्बन्धित खबरहरु