काठमाडौ । बरिष्ठ गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको काठमाडौको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

उनलाई हिजो दिउँसो अचानक अक्सिजनको कमी भएपछि इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०ः२५ मा निधन भयो पारिवारीक स्रोतले पुष्टि गरेको छ ।

दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो।

सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मेका उनले भारतको देहरादुनमा पढे। सानै उमेरदेखि नेपाली लोकसंगीत र संस्कृतिमा रुचि राख्ने उनले गीतकार, कवि, निर्देशक र नेपाली लोक–संस्कृतिको अध्येताका रुपमा नाम कमाएका छन्।

उनले तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म जस्ता चर्चित गीत रचना गरेका छन् । उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।

गीति संग्रह, कथा, कविता र उपन्याससमेत सार्वजनिक गरेका उनका हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।

सम्बन्धित खबरहरु