काठमाडौ । पछिल्लो २४ घण्टामा थप सात हजार ३६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ ।

थप १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट सात हजार ३१६ तथा एन्टिजेनबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २७ लाख ७० हजार ९८० जना पुगेको छ । हाल ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हालसम्म तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । शनिबार पाँच हजार ४५५ सङ्क्रमित निको भइ घर फर्किएका थिए । निको हुने दर ७४ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक लाख १० हजार २६३ सक्रिय सङ्क्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा सात हजार ८०८ तथा होम आइसोलेसनमा एक लाख दुई हजार ४५५ रहेका छन् । हाल देशभर ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा दुई हजार ६०९ सङ्क्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ६०९ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु