काठमाडौ । महामारी चरम रुपमा पुग्दा समेत नेपालका अर्बपतिहरुले मुठ्ठि फुकाएका थिएनन् । अहिले चौधरी फाउन्डेसनबाट सहयोग सुरु भएको छ । चौधरी फाउन्डेसनको आइसीयू र अक्सिजन प्लान्ट बनाउन १० करोड सहयोग गर्ने भएको छ।

फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसीयू वार्ड स्थापना गर्न लागेको हो। वीरको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेसनले जनाएको छ। यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुनेछ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानीको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ। यस सम्बन्धमा दुबै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर–प्रतिघण्टा रहने छ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।

अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने छ। आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सम्बन्धित खबरहरु