काठमाडौं । नेपालको कुल जनसंख्या भन्दा धेरै मानिसहरुले विवाहका लागि केटी पाएनन् भन्दा पत्याउनुहुन्छ ? अच्चम मान्नुपर्दैन, नेपालको छिमेकी मुलुक चीनमा झन्डै ३ करोड केटाहरूले विवाहका लागि केटी नपाएर कुमार बसेका छन् ।

केहीदिन अघि सार्वजनिक भएको चीनको सातौं जनगणनाको तथ्याङ्कले छोरीहरूको जन्मदर केही बढेको देखाएको थियो । तर पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम राखेपछि विवाहका लागि केटी नपाउने समस्या अझै बढेको हो ।

उसै पनि चीनले लामो समय एक सन्तान नीति अपनाउँदा केटा र केटीको अनुपातमा गम्भीर फरक रहेको छ । जानकारी अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चाहरुको जन्म भएको थियो । तीमध्ये १०० जना छोरी जन्मिँदा १११.३ जना छोरा थिए ।

सन् २०१० को तथ्यांकभन्दा यो अनुपात यसपटक केही घटेको हो । त्यतिबेला १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेको उल्लेख छ । छोरा र छोरीको जन्ममा यत्रो फरक हुनुले चिनियाँ समाजले अझैं लामो समय केटी नपाउने समस्याले ग्रसित हुनुपर्ने देखिन्छ ।

हङकङ प्रविधि विज्ञान विश्वविद्यालयका प्राध्यापक स्टअर्ट जिटेन–बास्टेनले चिनियाँ समाजमा यो समस्या अझै लामो समयसम्म रहने बताउँनुहुन्छ । उहाँका अनुसार चीनमा सामान्यतः केटाहरूले आफूभन्दा कान्छी केटीसँग विवाह गर्छन् ।

तर अहिले त केही केटाहरू विवाहका लागि निकै बुढा भइसकेका छन् । चीनमा अहिले धेरै महिलाहरू एक्लै बस्न थालेका छन् । यसकारण पनि विवाह प्रणालीमा समस्या देखिएको विज्ञहरु बताउँछन् ।

गत वर्ष जन्मिएका बच्चाहरूको तथ्याङ्कलाई आधार मान्ने हो भने जब उनीहरू विवाह गर्ने उमेरमा पुग्नेछन् त्यतिबेला ६ लाख केटाहरूले विवाहका लागि केटी नपाउने देखिन्छ ।

सन् १९७९ देखि २०१६ मा चलेको ‘एक बच्चा’ नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको धेरैको बुझाई रहेको छ ।

नेपालमापनि छोरा नै खोज्ने संस्कार नै बसेको छ । छोरीको जन्म अनिच्छा गर्नेहरुका कारण भोलि यही समस्या नआउला भन्न सकिन्न । सबै सचेत नहुने हो भने सृष्टिमा नै नकारात्मक असर पुग्नसक्छ । यसैले पुरातनवादी सोच त्याग्नु पर्दछ ।

 

सम्बन्धित खबरहरु