सभाध्यक्ष बैठकमा गएका होइनन् : सचिवालय
काठमाडौ, जनबोली न्युज डेस्क । संसद सचिवालयले विज्ञप्ती जारी गर्दै सभामुख सुबासचन्द्र नेम्वाङ कांग्रेस-एमालेको बैठकमा सहभागी बन्न नगएको प्रष्ट्याएको छ । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले विज्ञप्ती जारी गर्दै सभाध्यक्ष प्रधानमन्त्रीसँग सुरक्षा प्रबन्धको बिषयमा छलफलका लागि गएको बताएका हुन् ।
सभाध्यक्ष नेम्वाङ बुधबार साँझ बालुवाटारमा भएको कांग्रेस-एमालेको बैठकमा सहभागी भएको समाचार प्रकाशित भएको थियो ।
‘सभाध्यक्ष प्रधानमन्त्रीलगायत सभासदसँग सुरक्षा प्रबन्धको बिषयमा छलफलका लागि जानु भएको थियो’, जारी विज्ञप्तीमा भनिएको छ,’सभाध्यक्षले उहाँहरुलाई संबिधानसभाको सुरक्षा प्रबन्धबारे आश्वस्त तुल्याउनुभयो ।’
सभाध्यक्षसँग प्रधानमन्त्रीलगायतका सभासदले संबिधानसभा विपक्षीको आक्रमण भएको र आफूहरु असुरक्षित रहेको भनी चिन्ता व्यक्त गरेको विज्ञप्तीमा जनाइएको छ ।
विपक्षी दल बस्ने पट्टिकाे माईक हटाइयो
संविधानसभा हल भित्र एमाओवादी, मधेसी मोर्चा लगायतका दल बस्ने पट्टकिो टेबलबाट आज माईक हटाइएको छ । संघीय समाजवादी पार्टीका अध्यक्ष एंव सभासद अशोक राईले माईक हटाइएकोमा आपत्ति जनाएका छन् । उनले यस विषयमा सभामुखसँग कुरा गर्ने जनाए । ५ गते राति संविधानसभा भित्र विपक्षीले अवरोध गर्दा माईक तोडफोड र माईकबाटै प्रहार गर्ने काम भएपछि सतर्कताको उद्देश्यले माईक हटाइएको हुनसक्ने जनाइएको छ । माइककै प्रहारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको छातीमा चोट लागेको थियो । हल भित्र ठूलो संख्यामा मर्यादापालक परिचालन गरिएको छ ।
खुर्सानीको धुलो हामीले राखेका होइनौं : विपक्षी
विपक्षी मोर्चाले संबिधानसभामा भेटिएको खुर्सानीको धुलो आफूहरुले नराखेको प्रष्टीकरण दिएको छ । एमाओवादी, मधेसी मोर्चालगायत विपक्षी दलले खोर्सानीको धुलो आफूले राखेको होइन भन्दै संयुक्त विज्ञप्ती निकाल्ने तयारी गरेका छन् ।
आज संबिधानसभाको बैठक बस्नुअघि गरिएको सुरक्षा जाँचको क्रममा बैठक कक्षको कुनामा लुकाएर राखिएको अवस्थामा करिब १० केजी खुर्सादीको धुलो भेटिएको थियो ।
संबिधानसभालाई प्रक्रियामा जान नदिने अडान लिएका विपक्षी सभासदले धुलो लुकाएको हुनसक्ने आशंका गरिएपछि विपक्षीले विज्ञप्ती निकाल्ने तयारी गरेका हुन् ।