काठमाडौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताउनुभयो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो ।

आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।

सम्बन्धित खबरहरु