बेइजिङ, ५ जेठ (रासस–सिन्ह्वा) चीनमा मङ्गलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तिब्र बनाइएको छ ।

दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ ।

संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ । कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सम्बन्धित खबरहरु