काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । अहिले मध्यरात ओलीसँगै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।

उनीहरुले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको दावी गरेको बुझिएको छ । अब प्रधानमन्त्री बन्दा ओली चौथो पटक प्रधानमन्त्री बन्नेछन् । ठाकुरले आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै मध्यरातमा शीतल निवास पुगेका थिए् ।

उच्च स्रोतका अनुसार ओली र जसपा अध्यक्ष ठाकुरबीच सत्ता साझेदारीका विषयमा सहमति भएको छ । यसैले अबको सरकारमा ओलीले जसपाका नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, प्रमोद शाह, उमाशंकर अरघरिया, अनिल झा लगायतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६ (५) बमोजिम मात्र २१ घण्टा समय दिएर प्रधानमन्त्री नियुक्तिका लागि दावी गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख थियो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ । त्यसअघि नै सरकार बनाउन फेरि एमाले र जसपाले दावी गरिसकेको छ । राष्ट्रपतिले आजै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुहुनेछ ।

सम्बन्धित खबरहरु