काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित नेताद्धय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहको वार्ता टोलीको बैठक भर्खरै सकिएको छ । बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको बारेमा छलफल भएको छ ।

वार्ताका क्रममा माधव समूहका नेताहरु आफू–आफूमा नै विभाजित भएका छन् । देउवालाई हस्ताक्षर दिएको बारेमा माधव नेपाल पक्षका सदस्यहरुकै दुईथरी मत आएपछि मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको छ । अर्को बैठकपनि अनिश्चित बनेको छ । कहिले बस्ने भन्ने केही सल्लाह नै भएन बैठकमा सहभागी एक नेताले बताए ।

करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको वार्ता टोली संयोजक सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार वार्ता टोलीमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए ।

त्यो पहिलेको हस्ताक्षर हो हामीले दिएका छैनौँ उनीहरुले भने तर माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।

रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो, त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन ।

माधव नेपाल विपक्षी गठबन्धनमा लागिसकेको र नेपाल पक्षका कतिपय सांसदले हस्ताक्षर दुरुपयोग भयो भनिरहेको सन्दर्भमा अब वार्ता टोलीको अर्को बैठक नबसी भंग हुन सक्ने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् ।

यो बीचमा अब को–को नेपालको कित्तामा उभिने र को–को ओलीतर्फ आउँने स्पष्ट पार्नपनि नेताहरुलाई भनिएको छ ।

अब संसद विघटन अघि अब बन्ने सरकार ओलीको पक्षमा बन्यो र त्यो सरकारले समर्थन पाउने सम्भावना देखिएमा राजनीतिक नयाँ कोर्सका आधारमा माधव समूहसँग छलफल गर्ने अन्यथा कारवाही गर्ने ओली पक्षको दावी छ ।

 

सम्बन्धित खबरहरु