काठमाडौं । नेपालको छिमेकी मुलक चीनमा शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ७.४ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।

चीनको तिब्बती स्वायत्त प्रान्तको शहर माडोई काउन्टीमा केन्द्रविन्दु रहेको जानकारी दिइएको छ । चीनको भूकम्प मापन केन्द्रका अनुसार १७ किलोमिटर गहिराइबाट भूकम्प गएको थियो ।

माडोई शहर दक्षिण–मध्य–किनघाई प्रान्तमा, सिचुआनको सीमामा पर्छ । भूकम्पबाट के कति क्षति भएको भन्ने बारेमा कुनै जानकारी आएको छैन ।

भूकम्पको जोखिम कुन भेगमा कति ?

भूकम्प कुन बेला, कुन समय तथा स्थानमा जान्छ भनेर अग्रिम रूपमा बताउनसक्ने प्रविधिको विकास अहिलेसम्म भएको छैन । यद्यपि भूकम्पविद्हरूले यसको सामान्य रूपमा भविष्यवाणीमात्र गर्न सक्छन् ।

यसर्थ, विभिन्न समयमा भएका अध्ययनहरू र भूकम्पविद्हरूले गर्ने गरेका भविष्यवाणीहरूका आधारमा नेपाल भूकम्पीय जोखिमका हिसाबले ११औं जोखिमपूर्ण स्थानमा छ भने काठमाडौं उपत्यका त विश्वकै जोखिमपूर्ण सहरका रूपमा रहेको मानिन्छ । अव्यवस्थित सहरीकरण र वर्षौं पुराना भौतिक संरचनाले झनै जोखिम बढाएको विज्ञहरूले समयसमयमा सचेत गराउँदै आएका छन् ।

भूकम्प पृथ्वीमुनिको शक्ति निष्कासन गर्ने प्रक्रिया हो । कुनै देश वा क्षेत्रमा कत्तिको ठूलो र कति नियमित रूपमा भूकम्प आउँछ भन्ने कुरा उक्त क्षेत्रमा भएका टेक्टोनिक्स प्लेटहरूको गतिमा भर पर्दछ ।

नेपालमुनिको इन्डियन प्लेट हरेक वर्ष १८–२० सेन्टिमिटरका दरले तिब्बतियन प्लेटमुनि घुस्नु नै नेपाल र वरपरको क्षेत्रमा भूकम्प जानुको मुख्य कारण हो । विश्वमा भूकम्पमापक यन्त्र (सेस्मोमिटर) को प्रयोग हुन थालेको सन् १९६० को दशकबाट हो तर भूकम्प त्यसभन्दा पहिला पनि गइरहेकै थियो ।

भूकम्पमापक यन्त्रको आविष्कार हुनुअगाडिका भूकम्पलाई ऐतिहासिक भूकम्प भनिन्छ ।

ऐतिहासिक भूकम्पको बारेमा अध्ययन गर्न पुराना लेख, शिलालेख तथा सोही समयमा लेखिएका र पछि भेटिएका प्रमाणहरूलाई आधार मानिन्छ । नेपालमा अब ठूलो भूकम्प कैले जान्छ भन्ने प्रश्नको उत्तर दिन आजै नसकिएपनि भौगोलिक कारणले नेपाल उच्च जोखिममा छ ।

सम्बन्धित खबरहरु