काठमाडौं । राजनीतिक रुपमा आफ्नो लज्जासपद हारपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पहिलो प्रतिक्रिया दिनु भएको छ ।

उहाँले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह पनि गर्नुभयो । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’ उल्लेख गर्नुभयो ।

नेता नेपालले भन्नु भएको छ, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।

यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गर्नुभएको हो ।

 

सम्बन्धित खबरहरु