काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा भैसकेपछि प्रधानमन्त्री ओली मन्त्रिमण्डल हेरफेर र नयाँ मन्त्री थप्ने तयारीमा लाग्नु भएको हो ।

ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई नयाँ जिम्मेवारी दिन लाग्नु भएको हो । महन्थ समूहसँग चुनावी गठबन्धन सम्म बनाउने गरी सरकार निर्माण हुन लागेको श्रोतको दाबी छ ।

मन्त्रिमण्डलमा महन्थ ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि बलियो बनेको छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना अझ बलियो रहेको खुलेको छ । महतोले गृह मन्त्रालयको दाबी गरेको कुरा बाहिर आएको छ ।

गैर सांसद पूर्वमाओवादी ७ मन्त्रीहरुको नियुक्ति सर्वोच्च अदालतले ६ जेठमा बदर गर्दिएपछि अहिले सबै मन्त्रालय प्रधानमन्त्री ओलीको काँधमा आएका छन् ।

माओवादी छोडेर एमाले प्रवेश गरेका मन्त्रीहरु पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी जसपाको महन्थ ठाकुर पक्षधरलाई व्यवस्थापन गर्ने तयारी छ ।

जानकारी अनुसार मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा हुनुहुन्छ ।

जसपाले कम्तिमा १० मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । झण्डै बाराबरीको हाराहारीमा भएपनि सत्ता साझेदारी गरेर चुनावसम्म सहकार्य गर्ने उनीहरुको तयारी छ ।

 

सम्बन्धित खबरहरु